नेपालको झण्डा

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झण्डा (अर्को झण्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो।[२] नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ। नीलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।[३]

इतिहास[सम्पादन गर्ने]

हिन्दू धर्मको मान्यता अनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका छन्।[४] राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झण्डाको भन्दा राजछत्रको बढी महत्त्व हुने गरेको छनक पाइन्छ।

इस्वीको ६०० को मानाङ्कमा (लिच्छविकालीन मूद्रा) नेपाली झण्डा देखिएको कुरा एन. जी. रोड के. ग्यावर्स र सी भदेत्रोले 'क्वाइनेज् अफ नेपाल' मा तथा त्यसमाथि चन्द्र पनि भएको इस्वीको ६०५-६१५ मा ढालिएका मूद्रा नेपाल राष्ट्रिय मूद्रा सङ्ग्रहालयमा भेटिने कुरा ज्ञानमणि नेपालले लेखिसकेका छन्। इस्वीको ६०५ कै अर्को मूद्रामा पछाडि सूर्य र ६४१ कोमा अगाडि पछाडि सूर्य र चन्द्र भएको कुरा ग्यावर्स र भदेत्रोकै किताबमा उल्लेख छ। [५]

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ। हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्यवंश वा चन्द्रवंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय) ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्।

लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको हुनुपर्छ। त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झण्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे। आभीर अधिनायक विष्णुगुप्तद्वारा वि.सं. ६९० (संवत् ५७) मा प्रसारित अभिलेखमा आफूलाई सोमान्वय-भूषणः अर्थात् चन्द्रमाको वंशका गहनाजस्ता भएर रहेको उल्लेख गरेका छन्। मल्ल राजाहरू पनि लिच्छविजस्तै आफ्नो राजवंशलाई सूर्य-वंश मान्ने हुनाले उनीहरूले पनि ध्वजमा सूर्यलाई नै अङ्कित गरे होलान्।

प्राचीन नेपालका राष्ट्रिय ध्वजाहरूको आकृति र रङबारे पनि निश्चित भन्न सकिँदैन, राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झण्डामा रातो रङ नै प्रयोग गरे होलान् भनेर अनुमान गर्न चाहिँ सकिन्छ। मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका केतु वा झ्ण्डा टाँगिएका पाइन्छन् जसले नेपालका प्राचीन झ्ण्डाहरूको आकार सङ्केत गर्छन्। यस्ता झ्ण्डामध्ये केहीको माथिल्लो पताकामा राष्ट्रको प्रतीक सूर्य वा चन्द्रमा र तल्लो पताकामा सम्बद्ध देव वा देवीका प्रतीक-चिह्नहरू पाइन्छन्।

वर्तमान नेपालको राष्ट्रिय-झण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोर्खाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोर्खालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो। पृथ्वीनारायण शाहका अनुयायीहरू यही झण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) मा हजारौ नेपालीले यहि झण्डा को शान बचाउनको लागि बलिदान गरेका थिए । पृथ्वीनारायणदेखि सुरेन्द्र विक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झण्डा नै फहराइन्थे। प्रधानमन्त्री जङ्गबहादुर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्रधानमन्त्री रणोद्दीप सिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।

राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्य विक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको बहानामा प्रधानमन्त्री रणोद्दीप सिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्रधानमन्त्री वीर शमशेर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।

वि.सं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।[६]

नेपाली राष्ट्रिय-झण्डाको पुनरावलोकन[सम्पादन गर्ने]

विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढङ्गले झन्डा बनाउँथे। सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउँथे, कसैले तल्लो भागको। लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन। कसैले चन्द्रमा एक ढाँचाको बनाउँथे भने अर्कोले सूर्य अर्कै ढाँचाको। कतिसम्म भने चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे।

त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।

यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।

चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेँ। त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ। यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढङ्गले विचार पुर्‍याइएको थियो। संसारमै यस्तो मोडेलको झन्डा अरूको छैन।

पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। तर यो कुरो हास्यास्पद प्रतीत हुन्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। ती वंशको अस्तित्व हुनु अगावै नेपाली झन्डामा सूर्य र चन्द्र अङ्कित थिए। हाम्रो झन्डा त ज्यादै प्राचीन हो।

मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ। कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढङ्गले व्याख्या गरएिको छ। त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो।[७]

काठमाडौंको माइतीघर मण्डलामा फहराई रहेको नेपालको झण्डा

अन्य झण्डाहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

विश्वकै सबैभन्दा गणितीय झण्डा (यूट्यूब भिडियो)[८]

आर्यघाटमा राष्ट्रिय झण्डा : सम्मान कि मानमर्दन ?[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1.  "अनुसूची-१ नेपालको राष्ट्रिय झण्डा"। कानुन आयोग (नेपाली) भाषा)। अज्ञात पारामिटर |1=उपेक्षा गरिएको छ (मद्दत); अज्ञात पारामिटर |2=उपेक्षा गरिएको छ (मद्दत);
  2.  "नेपालको झण्डा संसारमै विशेष आकर्षक, यस्तो छ विश्वमा राष्ट्रिय झण्डाको इतिहास"। अनलाइन दर्पण (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१
  3.  [कार्य= "नेपालको झण्डाको विशेषता !!"] |युआरएल= यसको मान जाँच गर्नुहोस् (मद्दत) (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१
  4.  "संसारकै पुरानो झण्डाः नेपालको राष्ट्रिय झण्डा र यसको ऐतिहासिक महत्व"। इताजा खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१
  5.  पेज ६०, 'असहमति' - सौरभ
  6.  राष्ट्रिय-झण्डा प्रा. श्रीकृष्ण आचार्य
  7.  यसरी बन्यो राष्ट्रिय झन्डाको मानक -शंकरनाथ रिमाल
  8.  https://www.kantipath.com/news/8320 लेख- विश्वकै झन्डा मध्ये आकर्षक नेपालको झन्डा, यस्तो छ राष्ट्रिय झण्डाको इतिहास
  9.  http://kantipath.com/np/?p=32748#sthash.tosaxwd5.dpbs लेख - आर्यघाटमा राष्ट्रिय झण्डा : सम्मान कि मानमर्दन ?

Post a Comment

Previous Post Next Post