शिक्षकले बालबालिकालाई पिट्न हुन्न भनेर पटक पटक भनिएको हो । शिक्षकलाई बाल मनोविज्ञान र तनाव व्यवस्थापनको तालिम आवश्यक छ भनेर पटक पटक भनिराखेको पनि हो ! शिक्षकले अनुशासनका नाममा बालबालिकालाई यातना दिएको पटक्कै समर्थन गर्न सकिन्न !
तर, कुनै अभिभावकले पनि विद्यालयभित्र प्रवेश गरेर शिक्षकलाई भौतिक आक्रमण गर्नु र समाचारका नाममा कुनै अमूक मिडियाले त्यसलाई सार्वजनिक गर्नु कदाचित ठिक होइन । निजी स्कुलमा पढाउने शिक्षकको पनि ईज्जत हुन्छ ! उहाँको पनि मान, मर्यादा र प्रतिष्ठा हुन्छ !
यसरी सार्वजनिक स्थानमा गाली गलौज गरेर अपशब्द बोल्दै शिक्षकलाई थप्पड हान्ने व्यक्ति जोसुकै हुन्, कारवाही गरियोस् । विद्यालयले त्यस्ता हर्कतबिरुद्ध उजुरी गर्न शिक्षकलाई सहजीकरण गरोस् ! प्याब्सन, एनप्याब्सन लगायतले यस्ता घटनालाई गम्भीरतापूर्वक हेरिदिनु होला ।
बालबालिकालाई यातना दिने शिक्षक पनि कारवाहीको घेरामा आउनै पर्दछ ।सम्बन्धित विद्यालयले बालबालिकालाई यातना दिने गरेको खबर पहिले पनि सार्वजनिक भएको हो । केही पीडित बाालिकाको तस्वीर अहिले पनि मसँग सुरक्षित नै छन् । विद्यालयले पनि यस्को सार्वजनिक क्षति भोगेकै होला ।
तर, मिडिया बोलाएर सार्वजनिक रुपमा शिक्षकमाथि हातपात गर्ने अभिभावकको यो कार्य खेदजनक छ ।
यस्ता अभिभावकबाट बालबालिकाले पनि गलत व्यवहार नै सिक्ने गर्दछन् !
घटना विवरण: तनहुँ दमौलीको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई पिटेपाछि त्यसको प्रत्युत्तरमा अभिभावकले मिडिया बोलाएर शिक्षकलाई पिटेको भिडियो सार्वजनिक भएको छ ।